काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन–२०८३ अन्तर्गत पार्टी पदाधिकारी चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम पाँचौं संशोधनसहित पुन: प्रकाशित कार्यतालिका अनुसार पदाधिकारी चयन गर्न आज बिहीबार राति सवा नौ बजेदेखि निर्वाचन गरिने भएको छ ।
रास्वपाले पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिसकेको छ भने मतपरिणाम घोषणा गरिसकेको छैन । यद्यपि, साँझ ५ बजेदेखि ६:३० बजेसम्म दोस्रो चरणको तयारी गरिनेछ भने बेलुका ६:३० बजेदेखि ७ बजेसम्म पार्टी पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता फाराम वितरण तथा दर्ता गरिने कार्यक्रम तय गरिएको छ । प्रारम्भिक उम्मेदवार नामावली साँझ ७:३० बजे प्रकाशन गरिनेछ ।
उम्मेदवारविरुद्ध दाबी–विरोधका लागि साँझ ८ बजेसम्म समय तोकिएको छ । दाबी–विरोधमाथि परेका उजुरीबारे जाँचबुझको काम साँझ ८:१५ बजेसम्म सम्पन्न गरिनेछ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेको अवस्थामा साँझ ८:३० बजेसम्म निर्वाचन आयोगको सम्पर्क सचिवालयमा निवेदन दिन सक्नेछन् ।
यसैगरी, अन्तिम उम्मेदवार नामावली साँझ ८:४५ बजे प्रकाशित गरिनेछ भने साँझ ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म मौन अवधि कायम गरिएको छ भने पार्टी पदाधिकारीको मतदान राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म सञ्चालन हुनेछ । त्यसपछि राति १२:१५ बजेदेखि १:१५ बजेसम्म मतगणना गरिने र राति १:३० बजे अन्तिम मतपरिणाम घोषणा गरिने कार्यतालिकामा उल्लेख छ ।


