काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि नीति, संगठन र नेतृत्व रास्वपा कार्यशाला श्रृंखला–१ काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको छ ।
शनिबार र आइतबार दुई दिन हुने कार्यशालामा अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गर्ने बताइएको छ । त्यस्तै कार्यशालामा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरूका बारेमा बोल्ने छन् भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मूल्य मान्यता र स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रूपरेखा बारे प्रस्तुति दिने कार्यतालिका रहेको छ ।
त्यस्तै कार्यशालामा बजेट निर्माणका वैज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायहरू बारे समेत प्रस्तुति हुने बताइएको छ । साथै दोस्रो दिन पार्टीको सांगठनिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रूपमा एआईको प्रयोग गर्ने तरिका र २१औँ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ ।
त्यस्तै आइतबार समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको छ ।
