काठमाडौँ । अमेरिकाले यमनमा विद्रोही समूह हुथीमाथि गर्न लागेको आक्रमणको सूचना चुहिएपछि हङ्गामा मच्चिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक जना पत्रकारले यस्तो गोप्य सूचना चुहाएको बताएका छन् ।
समाचारहरूमा भनिएअनुसार द एटलान्टिक पत्रिकाका प्रधानसम्पादक जेफ्री गोल्डबर्गले यो सूचना चुहाएका हुन् । प्रश्न उठ्छ– अमेरिकाजस्तो शक्तिशाली देशको सुरक्षासम्बन्धी यस्तो गम्भीर सूचना एउटा पत्रकारले कसरी पायो ?
पत्रकार जेफ्री गोल्डबर्गको दाबीअनुसार उनलाई सामाजिक सञ्जाल ‘सिग्नल’ को एउटा च्याट ग्रुपमा जोडिएको थियो । र, उनलाई अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले उक्त ग्रुपमा जोडेका थिए ।
यसबारे उनी भन्छन्, ‘मार्च ११ मा सिग्नल एपमा मलाई एउटा सन्देश प्राप्त भएको थियो । यो अकाउन्टको पहिचान ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको रूपमा गरिएको थियो ।’
‘मार्च १३ मा फेरि एउटा सूचना आयो, जसमा मलाई एउटा च्याट ग्रुपमा थपिएको जानकारी गराइयो । उक्त ग्रुपको नाम ‘हुथी पीसी स्मल ग्रुप’ थियो । यही ग्रुपमा हुत्ती विद्रोहीमाथि आक्रमण गर्न समन्वय गरिने सन्देश पठाइएको थियो ।’
उनले थपे, ‘मार्च १५ मा मलाई अर्को सन्देश प्राप्त भयो, जसमा हुथी विद्रोहीमाथि आक्रमण गर्ने योजना रहेको उल्लेख थियो । दुई घण्टापछि यही ग्रुपमा वाल्ट्जले लेखे, ‘अभियान सफल भयो ।’
उनले अमेरिकाका शीर्ष सुरक्षा अधिकारीहरूले नै यमनमाथिको आक्रमणको योजना लिक गरेको आरोप लगाएका छन् ।
ट्रम्प प्रशासनले यस सम्बन्धमा विज्ञप्ति जारी गरी गल्ती स्वीकार गर्दै यसबारे समीक्षा गरिने बताएको छ ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पीट हेगसेथले भने पत्रकार गोल्डबर्गको दाबीलाई अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पले यसबारे आफूलाई जानकारी नै नरहेको बताएका छन् । उनले भने, ‘मलाई यसबारे केही थाहा छैन । मेरो लागि त एटलान्टिक एउटा यस्तो पत्रिका हो, जुन बन्द हुन लागेको छ ।’
रक्षामन्त्री हेगसेथले कसैले पनि हुथीमाथिको आक्रमणको सूचना नपठाएको दाबी गरेका छन् । पत्रकारको प्रश्नमा उनले भने, ‘तपाईं एक ठग र कुख्यात भनिने पत्रकारको बारेमा कुरा गर्दै हुनुहुन्छ । कसैले पनि युद्ध योजनाबारे सन्देश पठाइरहेको थिएन । यसबारे मसँग थप भन्न केही छैन ।’
बीबीसी हिन्दीकाे सहयाेगमा
FACEBOOK COMMENTS