काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यस सम्बन्धमा एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको हो ।