काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीको रुसले जवाफ दिएको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको ५० दिनको समय सीमाबारे प्रतिक्रिया दिँदै आफूहरूले ट्रम्पले भन्न खोजेको कुरा बुझ्ने प्रयास गरिरहेको बताएका छन् ।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार, विदेशमन्त्री लाभरोभले रुसले ट्रम्पले ५० दिनको समय दिँदै के भन्न खोजेको हो भनेर जान्न चाहेको बताएका हुन् ।
उनले भने, ‘५० दिनको यो कथनको अर्थ के हो । यसअघि पनि २४ घण्टा र १०० दिनको समयसीमा दिइएको थियो । हामीले यो सबै देखेका छौं र अमेरिकी राष्ट्रपतिको मनसाय बुझ्न चाहन्छौं ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले यदि ५० दिनमा युक्रेनसँग युद्धविराम नगरेमा रुसविरुद्ध भारी शुल्क लगाउने चेतावनी दिएका छन् ।
लाभरोभले ट्रम्प युरोपेली सङ्घ र नेटोको दबाबमा रहेको दाबी गरेका छन् । युरोपेली सङ्घ र नेटोले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको मागलाई समर्थन गरिरहेका छन् र उनलाई निरन्तर हतियार प्रदान गरिरहेका छन् । पश्चिमी देशका करदाताहरूले बढ्दो क्षतिको रूपमा यसको मार खेपिरहेका छन् ।
लाभरोभले रूसले पहिले नै ‘अभूतपूर्व प्रतिबन्धहरू’ को सामना गरिरहेको बताउँदै कुनै पनि नयाँ प्रतिबन्धहरूको सामना गर्ने विश्वास व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS