काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।
संसदीय छानबिन विशेष समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी तयार गरेको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।
नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधिसभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।
सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए ।
असोज २ गतेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ ।
सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ ।
समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोबारमा जीबी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोबार हेर्दा रवि लामिछाने नै कारोबारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भए तापनि समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ ।’
हेर्नुहाेस् प्रतिवेदनकाे पूर्णपाठ-
FACEBOOK COMMENTS