काठमाडौं । गायिका समीक्षा अधिकारीले नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जालमा आफूमाथि गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै विक्षिप्त बनेको बताएकी छन् ।
समीक्षाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेको ‘साहसी छोरीहरू’ उल्लेखित पोष्टले हौसला र केही मात्रामा राहत मिले पनि त्यसको मसी सुक्न नपाउदै ओलीका विश्वासपात्र महेश बस्नेतले आफ्नो चरित्रहत्या हुने गरी लेखेको विषयले आफू विक्षिप्त बनेको उल्लेख गरेकी छन् ।
समीक्षाले भनेकी छन्– ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोष्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो, तर त्यो पोष्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वासपात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्रहत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु । जनताको अदालतभन्दा ठूलो अरू केहि छैन । जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ । यो तीन करोड जनतालाई थाहा छ । धेरै भन्ने नपार्नुस् । बस्नेतज्यूलाई मेरो प्रश्न छ– मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो ?’
समीक्षाको स्ट्याटसपछि महेश बस्नेतले माफी माग्दै आफ्नो स्टाटस सच्याएको बताएका छन् । बस्नेतले भनेका छन्, ‘आजको मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ । सोही विषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए । कसैको चरित्रहत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले विल्कुल होइन । कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन । तर, समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुझेर मैले स्टाटसलाई केही संशोधन गरेको छु ।’
FACEBOOK COMMENTS