काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरुको बैठक शुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी रहेको हो ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् ।
विपक्षीहरुले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएपनि त्यसपछि जेठ २० गते देखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेर भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गर्न जोड दिएको छ । छानबिन समिति बनाईने प्रतिबद्धतामात्रै आएपनि सदनको अवरोध खुलाउन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार रहेको बुझिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन दुवै मागमा अडिक रहेको छ ।
प्रचण्डले आजको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेससँग भएको छलफलको ब्रिफिङ गर्ने र सोहि अनुसार विपक्षी दलहरुको धारणा बनाउने बुझिएको छ । प्रचण्डले शुक्रबार र शनिबार कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।
FACEBOOK COMMENTS