काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ ।
यसले थोरै च्यानल हेर्ने नेपाली उपभोक्तालाई राहत मिल्ने र नेपालमा व्यापार गर्दै आएका विदेशी च्यानलका गतिविधिमाथि नियन्त्रण गर्न सकिने मन्त्रालयको विश्वास छ ।
मन्त्रालयले आलाकार्ट प्रणालीका लागि कानूनी व्यवस्था गर्न प्रक्रिया अघि बढाएको छ । यो प्रणाली लागू हुन ढिलाइ हुँदा विदेशी च्यानलले नेपालका सिग्नल वितरण गर्ने कम्पनीसँग अनावश्यक सम्झौता गर्ने र आफूले भनेअनुसार फाइदा उठाउन नपाए एकपक्षीय रूपमा सम्झौता तोडेर अर्को कम्पनीसँग सम्झौता गर्दै आएका छन् । विनासूचना टेलिभिजनको सिग्नल बन्द गरिदिने र नेपालका व्यवसायीबीच नै सम्बन्ध बिगार्ने जस्ता काम गर्दै आएको आरोप उनीहरूमाथि लागेको छ ।
यो प्रणालीबाट नेपाली दर्शकले नहेर्ने र कम हेर्ने च्यानलका लागि पनि बढी शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ । पछिल्लो समय केबल टेलिभिजन सेवा प्रदायकको बजार खुम्चिँदै गएको छ ।
यसबाट सिग्नल वितरण गर्ने कम्पनीलाई समेत बोझ कम हुने र विदेशी स–शुल्क च्यानल प्रदायक र स्वदेशी सिग्नल वितरकसँगकोे भुक्तानीमा समेत पारदर्शिता आउने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS