संगीता पहाडी (अर्याल) नेपालमा मोबाइल सेवाको सुरूवाती चरणमा मोबाइलको एक्पर्ट इन्जिनीयरदेखि मोबाइलको मेनेजर, व्यापार शाखाको प्रमुख व्यावसायिक अधिकृत र चिप टेक्निकल अफिसर हुँदै अहिले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक नियुक्त भएकी छिन् । २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई सरकारले गत भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी उनले वि.स. २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । वि.स. २०५१ फागुन १० गते स्थायी नियुक्ति लिएर विगत ३० वर्षदेखि नेपाल टेलिकममा अविच्छिन्न सेवारत रहेकी पहाडी संस्थाको नेतृत्व तहमा पुगेपछि हामीले नेपाल टेलिकमको वर्तमान अवस्था र भावी योजनालगायत बारेमा विशेष कुराकानी गरेका छौँ । प्रस्तुत छ, नेपाल टेलिकमको कार्यकारी पदमा पुग्ने दोस्रो महिला नेतृत्व संगीता पहाडीसँग कर्पोरेट खबरका ज्योति जीसी र भाेजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश-
कार्यकारी पद आफैँमा ओझिलो, भरिलो र जिम्मेवारीको कोणबाट हेर्दा बोझिलो हो । यहाँले चाहिँ आफ्नो यो पदलाई कसरी अनुभूति गरिरहनुभएको छ ?
मैले यो पदको जिम्मेवारी पाउनुमा यहाँहरूको पनि भूमिका छ । मैले निमित्त भएर पनि ११ महिनाको कार्यकाल पूरा गरिसकेकी छु । अहिले मलाई सरकारले पूर्ण कार्यकालको भूमिका निभाउन दिएको अवसरप्रति अनुग्रहित छु । मलाई नियुक्ति दिने सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू, सञ्चार मन्त्रालयलगायत यो निर्णय प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु । यस कार्यमा मलाई सहयोग, सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णलाई पनि म धन्यवाद दिन चाहन्छु ।
राष्ट्रको टेलिकम्युनिकेसनको अग्रगामी संस्था नेपाल टेलिकमको प्रमुख जिम्मेवारी महत्त्वपूर्ण विषय हो । यो संस्थाको पहिलो जिम्मेवारी देशको कुनाकाप्चासम्मका सबै ग्राहकहरूमाझ आफ्नो सेवासुविधा पुर्याउनु र आफूले दिइरहेको सुविधालाई अझ बढी गुणस्तरीय र विश्वसनीय बनाउनु यसको दोस्रो जिम्मेवारी हो । नेपाल टेलिकम नेपाल सरकार सञ्चार मन्त्रालयअन्तर्गत रहेको छ । त्यसकारण नेपाल सरकारले अवलम्बन गर्ने आईटीसम्बन्धी र डिजिटल नेपालसम्बन्धी नीतिहरूलाई कार्यान्वयन गर्न यो संस्थाले ठूलो भूमिका खेल्दै आएको छ र ती कामलाई निरन्तरता दिनु पनि यसको अर्को जिम्मेवारी हो ।
यो मेरो पुरानो संस्था पनि हो । यहाँ मैले करिब ३२ वर्षको लामो अवधि बिताइसकेको हुनाले एकप्रकारले भन्ने हो भने यो संस्था मेरो घरजस्तै हो, अहिले मैले जिम्मेवारी मात्र नयाँ पाएको हो । यसलाई कसरी अगाडि लैजाने र कसरी अघि बढाउँदा यसले अझ बढी फड्को मार्छ भन्ने कुरामा हामी हाम्रो टीममा बसेर छलफल गरिरहेका छौँ । ती छलफललाई पूर्ण रूप दिन कतिपय कार्यक्रमहरू पनि हामीले बनाइसकेका छौँ भने कार्यान्वयनको चरणमा जाने तयारीमा हामी छौँ ।
एकप्रकारले भन्न्ने हो भने नेपाल टेलिकमको सेवा जनस्तरको पहुँचमा पुगेको छ । ती सेवालाई अझ गुणस्तर प्रदान गर्नका लागि यहाँको भूमिका कस्तो रहने छ ?
विशेषगरी नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गमा सञ्चालन गरेको दुईवटा सेवा छन् । एउटा वायरलेस मोबाइल सेवा र अर्को वायर लाइनअन्तर्गत हाइ ब्याण्डवीथ इन्टरनेट सेवा ‘फाइबर टू द होम-एफटीटीएच’ सहितको सेवा । यसअन्तर्गत अन्य विभिन्न सेवाहरू रहेका छन् । त्यसमा मोबाइलाको विस्तार हामीले लगभग सबैतिर गरिसकेका छौँ भने ‘फोर-जी’ विस्तारको काम केही स्थानमा बाँकी रहेका छन् ।
त्यस्तै, मोबाइलको सन्दर्भमा कतिपय ठाउँमा कभरेज गर्न बाँकी रहेको छ । सुरूवातमा बनाइएको मोबाइल विस्तारको योजनाले अहिले भइरहेको वस्ती विकासलाई नसमेटेको कारणले गर्दा हामीले थप सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको हो । वस्ती र सहर विकासको ‘डाइमेन्सन’हरू पनि फरक-फरक भएका कारण ती ठाउँहरूमा नयाँ नेटवर्क लैजाने काम नेपाल टेलिकमले निरन्तर गरिरहेको छ । भइरहेको मोबाइल सेवाको गुणस्तरलाई बढाउन पनि हामीले तीव्रताका साथ काम गरिरहेका छौँ । इन्टरनेटतर्फ हाइ ब्याण्डवीथ इन्टरनेट सेवा एफटीटीएच जनताको घर-घरमा पुर्याउनका लागि विशेष योजना बनाइरहेका छौँ ।
अहिलेसम्म मुलुकका ७५३ वटा स्थनीय तहमध्ये ७४३ वटा तहमा ‘फोर-जी’ सेवा पुर्याइसकेका छौँ भने २७० वटा स्थानीय तहमा हाइ ब्याण्डवीथ इन्टरनेट सेवा पुर्याएका छौँ । जिल्लाको हिसाबले कुरा गर्दा ७७ वटै जिल्लामा पहिल्यैदेखि मोबाइल सेवा सञ्चालन भइरहेको छ भने गत साउनदेखि ७७ वटै जिल्लामा हाइ ब्याण्डवीथ इन्टरनेट सेवा एफटीटीएच पनि विस्तार गरिसकेका छौँ । गएको साउन ३१ गते ७७औँ जिल्लाका रूपमा हामीले हुम्लामा एफटीटीएच सेवा विस्तार गरी सबै जिल्लामा सञ्जाल विस्तार गरेका हौँ ।
मोबाइल, फोर-जी र एफटीटीएच सेवा नपुगेका बाँकी ठाउँमा सेवा विस्तार गर्न के-कस्ता योजना बनाउनुभएको छ ?
नेपाल टेलिकमले मोबाइलको सेवा देशव्यापी रूपमा विस्तार गरिसकेको छ, केवल बस्ती र सहर विस्तारको ‘भेरिएसन’का कारण कुनै वस्ती र गाउँहरूमा मात्रै पुर्याउनुपर्ने अहिलेको अवस्था हो । त्यस्तै, विद्युत् लाइन नभएको र अन्य पूर्वाधार समेत नभएको खासगरी पहाडी भेगहरूमा फोर-जी सेवा पुर्याउन बाँकी हो । मुलुकका ६ हजार ७४३ वटै वडाहरूमा फोर-जी सेवा विस्तार गर्ने हाम्रो लक्ष्य छ । त्यसमा हामीले हरेक वर्ष एक हजार भन्दा बढी वडामा सेवा विस्तार गर्ने योजना बनाएका छौँ र सोही अनुसार काम भइरहेको छ ।
हिमाली र पहाडी जिल्ला जहाँ बस्ती छैन ती ठाउँबाहेक झण्डै चार हजार भन्दा बढी वडाहरूमा एफटीटीएचको माध्यमबाट फोर-जी सेवा पुर्याउने हाम्रो योजना छ । फाइवरबाहेक हाम्रो वायरलेस सुविधा नमस्ते वाईफाईमार्फत सबै ठाउँमा इन्टरनेट सेवा पुगिसकेको छ । कतिपय यसअघि बनाइएका योजनाहरूलाई पनि हामीले कार्यान्वयनमा लगिसकेका छौँ ।
कम्पनीको ग्राहक सेवा रणनीति र बजार नीतिलाई थप प्रतिस्पर्धात्मक बनाउन के योजना बनाउनु भएको छ ?
हामीले टेलिफोन, आईभीआर, मोबाइल एप, वेबसाइट, च्याटबोट, फेसबुक, ट्वीटर (एक्स) लगायतका विभिन्न माध्यमको प्रयोगमार्फत प्राप्त हुने एवम् ग्राहक सेवा केन्द्रमार्फत प्राप्त हुने ग्राहकका गुनासा र समस्या सम्बोधन गरिरहेका छौँ । इन्टरनेट सेवा एवम् सामाजिक सञ्जालको बढ्दो प्रयोगले हालको अवस्थामा डिजिटल मार्केटिङलाई विशेष महत्व दिई सेवाको बजारीकरण गरिएको छ । साथै, सेवा प्रदान गरिसकेपछि पनि आन्तरिक जनशक्ति पर्याप्त नभएमा आउटसोर्सबाट अतिरिक्त जनशक्तिको व्यवस्थापन गरी ग्राहक सेवामा प्रभावकारिता बढाइरहेका छौँ । हाम्रा थुप्रै सेवाका साथै पछिल्लो समयमा लोकप्रिय रहेको एफटीटीएच सेवाको बजारीकरण एवम् उपलब्धताका लागि घरमै बसी-बसी शुल्क नलाग्ने नम्बर १९८ मा कल गरी सेवाको जडान समेत हुने व्यवस्था मिलाइएको छ ।
यसका साथै एफटीटीएच सेवामार्फत भ्वाइस सेवा मात्र उपभोग गरिरहनुभएका ग्राहक महानुभावहरूलाई बिनाकुनै थप शुल्क ५० एमबीपीएस क्षमताको इन्टरनेट सेवाको अनुभव एक महिनासम्म लिन सक्ने व्यवस्था मिलाइएको छ । हामीले युवा पुस्तालाई हाम्रो सेवामा आकर्षित गरिरहनका लागि विद्यार्थीलक्षित कार्यक्रमलाई विशेष महत्व दिई निःशुल्क सिम वितरण गरिरहेका छाैँ । दूरदराजका सबै नेपालीले हाम्रो सेवा प्रयोग गर्न सकुन् भन्ने उद्देश्यका साथ सेवाको पहुँचसँगै निःशुल्क सिम वितरण गरिरहेका छौँ ।
त्यसैगरी, नयाँ प्रविधि भित्र्याउँदा सबैले सहज रूपमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले त्यस्ता सेवालाई समेत निःशुल्क गर्ने गरेका छौँ । नेपाली जनताको क्रयशक्तिलाई हेरेर त्यसै अनुसार महसुल दर र प्याकेज निर्धारण गरेका छौँ भने हामी हाम्रो सेवालाई थप ग्रहकमुखी र प्रतिस्पर्धात्मक बनाउन निरन्तर क्रियाशील छाैँ । त्यस्तै, नेपाल टेलिकमले निरन्तर रूपमा नयाँ प्रविधि भित्र्याइरहेको र आगामी दिनमा समेत यस्ता नयाँ प्रविधि भित्र्याउने क्रमलाई जारी राख्ने प्रतिबद्धता छ ।
प्रविधिको तीव्र विकाससँगै उदय भएका फेसबुक म्यासेन्जर, भाइवर, ह्वाट्स एप र इमोलगायत एप्लिकेशनहरूको प्रभावकारिता बढ्दै जाँदा फोन कल घटेको छ । हुन त यो नेपालको मात्र नभई विश्वकै समस्याका रूपमा अगाडि आएको छ । यसले नेपाल टेलिकमलाई इन्टरनेट सेवा विस्तारमा कत्तिको दबाब वा चुनौती थपेको छ ?
तपाइँले भन्नुभएजस्तै नेपालमा भ्वाइस कल घट्दो क्रममै रहेको छ । ओटीटी प्लाटफर्महरूमा पनि भ्वाइस कलको सुविधा हुने भएकाले फोन कल अलिअलि मात्र होइन ‘सिग्नीफिकेन्ट्ली’ नै घटिरहेको छ । वि.स. २०७४ सालमा हाम्रो अन्तर्राष्ट्रिय रेभिन्यु १६ अर्ब रहेको थियो भो अहिले २०८० सालसम्म आइपुग्दा ६ अर्बको हाराहारीमा मात्रै छ । यसले पनि भ्वाइस कलको ट्रेण्ड घटेको र ओटीटी प्लाटफर्ममा सिफ्ट भएको पुष्टि गर्छ । ओटीटी प्लाटफर्महरू डाडाको प्रयोगमार्फत चल्ने भएकाले सर्भिस पनि सिफ्ट भएर डाटातिर गइरहेको छ । तर, विगतमा भ्वाइस कलमार्फत जुन आम्दानी हामी गर्थ्यौँ, त्यो डाटाबाट भइरहेको छैन । यसको कारण भनेको हामीले डाटा प्याकहरू पनि निकै सस्तो दरमा दिएर हो । सस्तो दिँदा रेभिन्यु कम हुने र महङ्गो बनाउँदा ग्राहकहरू बिच्किने चुनौती अहिले हाम्रो सामु छ ।
तपाईंले नेपाल टेलिकमका डाटा प्याकहरू सस्तोमा दिएकाले रेभिन्यु बढाउन सकिएन भन्नुभयो । तर, ग्राहकहरूले भने पछिल्लो समय एनटीसीको डाटा प्याकहरू महङ्गो भएको गुनासो पो गरिरहेका छन् त ?
हाम्रो डाटा प्याकहरूको सूची हेर्नुभयो भने अरूको तुलनामा सस्तो छ । सिङ्गो एशिया क्षेत्रमै हाम्रो डाटा प्याक दोस्रो सस्तो कहलिएको छ । पछिल्लो समय हामीले ‘रिभाइज’ गरेको विषयलाई लिएर ग्राहकहरूले त्यस्तो गुनासो गर्नुभएको हुनसक्छ । तर, रिभाइजपछि हाम्रो डाटा प्याक झन् सस्तो भएका छन् । हामी हरेक दिन वा हरेक महिना कुन ग्राहकले कुन ट्रेण्डमा डाटा खरिद र उपभोग गरिरहनुभएको छ त्यसलाई हाम्रो ‘बिजनेश इन्टेलिजेन्ट’मार्फत मोनिटरिङ र उहाँहरूको इच्छालाई अध्ययन गरिरहेका हुन्छौँ । पछिल्लो समय त्यसबाट हामीले के पायौँ भने ग्राहकहरूले छोटो प्याकेज लिने तर डाटाचाहिँ धेरै रिक्वायरमेन्ट रहेको देखेर हामीले सानो कष्टमा हाइ ब्याण्डवीथ भनेर अझ सस्तो बनाएका हौँ । हामीलाई त यो डाटा प्याकहरू महङ्गो बनाउने कुनै पनि छुट छँदैछैन । हामी सरकारबाट निर्देशित संस्था भएको हुँदा जतिसक्दो सर्वसुलभ बनाउने प्रयास सधैं रहिरहन्छ ।
भ्वाइस कलको प्रयोग घटेपछि अहिलेको परिस्थितिमा तपाइँहरूले डाटा प्याकलाई बढी महत्व दिनुपर्ने अवस्था छ । यसका अलावा भ्वाइसको विकल्पमा एनसटीसीले अरु के-के काम गर्न सक्छ ?
डाटाको प्रयोगलाई बढाउनुमै हाम्रो ध्यान केन्द्रित हुने छ । किनकी अहिलेको आवश्यकता नै यही छ । यसबाहेक हामीसँग केही भ्यालु एडेड प्रडक्टहरू पनि छन् त्यसलाई थप प्रवद्र्धन गर्नुपर्ने जरुरी छ । जस्तो, कोही ग्राहकले एनटीसीको इन्टरनेट सेवा घर वा कार्यालयमा लिनुभयो भने त्यसमा निःशुल्क रूपमा एटीटीभी सेवा पनि कनेक्ट गर्न सक्नुहुनेछ, यो हाम्रो भ्यालु एडेड प्रडक्ट हो । त्यो बाहेक अरु नयाँ स्किमहरू पनि हामीले ल्याइरहेका छौँ, जस्तैः रिङब्याक टोन, गेम प्याकेज, एसएमएस बेस्ड भीएएस सर्भिस, फोर-जी एलटीई नेटवर्क र इन्टरनेशनल रोमिङलगायत सेवाको प्रवर्द्धन तथा नयाँ स्किमहरू समेत ल्याउने प्रयासमा हामी छौँ ।
किनकी हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रूपमा स्थायित्व कायम गर्न सकिन्छ । आगामी दिनमा यसै अनुसार कार्य अगाडि बढाइने छ । दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरू जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र भवन, फोर-जी विस्तार, फाइभजी, डिजिटल मार्केटिङलगायत नयाँ भ्यालु एडेड सर्भिसलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ ।
सबै राजमार्गहरूमा हाइवे कभरेजलाई थप परिस्कृत तथा गुणस्तरयुक्त बनाइने छ भने एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने कुरा मैले अगाडि पनि उल्लेख गरिसकेँ । आई-एनओसीलाई अझ बढी परिस्कृत बनाइने छ । कम्पनीको मोबाइल सेवाअन्तर्गत सञ्चालनमा रहेको ‘म्यानेज्ड सर्भिस’को कार्यान्वयनलाई व्यवस्थित गरिने छ । नयाँ ‘आरएएन’ परियोजना कार्यान्वयनका लागि जोड दिइनुका साथै परिस्कृत ‘हाइ क्यापासिटी एसएमएस’ सेवाहरू सञ्चालन गरिने छ भने विश्व बजारमा उपलब्ध र देश अनुकूल हुने प्रविधिको क्रमशः कार्यान्वयन गर्दै अगाडि बढिने छ ।
प्रविधिको विकासका कारण ‘भ्वाइस कल’ घटेको चर्चा हामीले गर्यौँ । साथै रिचार्ज कार्डको छपाईको अवस्थाचाहिँ कस्तो छ नि ?
अहिले भौतिक रूपमा रिचार्ज गर्ने भन्दा विद्युतीय माध्यमबाट रिचार्ज गर्नेेको सङ्ख्या करिब ६० प्रतिशत रहेको छ । तीन महिनाअघि ई-रिचार्ज ५५ प्रतिशत र पेपर रिचार्ड ४५ प्रतिशत रहेको थियो । अझ यो विद्युतीय रिचार्जबाट हुने गरेको छ ।
हामीले फोर-जीको बारेमा धेरै चर्चा गर्यौँ । एनटीसीले ‘फाइभ-जी’ सेवा पनि सुरू गर्ने बताएको थियो । त्यो प्रक्रिया अहिले कहाँ पुग्यो र कहिलेसम्ममा हामीले फाइभ-जी सेवा उपभोग गर्न पाउँछौँ ?
हामीले फोर-जी सेवा सुरू गर्दा नै ‘फाइभ-जी’ सेवाको प्रोभिजन राखेर टेक्नोलोजी ल्याइसकेका छौँ । फाइभ-जीको सवाल नेपाल टेलिकमको मात्र नभइ यसको नियामक निकाय दूरसञ्चार प्राधिकरणले कुन फ्रिक्वेन्सी प्रयोग गर्न दिने भन्ने कुरामा निर्भर रहँदै आएको छ । प्राधिकरणले फ्रिक्वेन्सीको अनुमति दिनेवित्तिकै यो सेवा सुचारू गर्न हामी तम्तयार अवस्थामा छौँ । केही स्थानहरूमा त हामीले परीक्षण पनि गरिसकेका छौँ । आगामी दिनमा फोर-जी सेवा थप विस्तार र फाइभ-जी सेवा पनि क्रमशः परीक्षण र विस्तार गर्ने कम्पनीको योजना छ ।
तपाइँले ३२ वर्षदेखि संस्था हाँकिरहनुभएको छ । सरकारी पदमा बसेर काम गर्नु निजीमा जस्तो सहज हुँदैन रे । अनेक दबाब र प्रभावहरू झेल्नुपर्छ भनिन्छ । यसबारे केही टिप्पणी गर्न चाहनुहुन्छ कि ?
नेपालमा मोबाइल सेवाको सुरूवाती चरणदेखि मोबाइलको एक्पर्ट इन्जिनियरका रूपमा रहेर म यो संस्थामा रहेर काम गर्दै आएको छु । त्यहाँदेखि यहाँसम्म आउँदा र अहिले यो पदमा रहेको पनि केही महिना बित्दासम्म मैले आफ्नो काममा कुनै असहज महसुस गर्नु परेको छैन । नेपाल टेलिकम देशकै सम्वृद्ध टेक्नोलोजीको संस्था हो । यसले ल्याएको नयाँ-नयाँ टेक्नोलोजीबाटै ग्राहकले सेवा लिने र चेतनाको काम समेत हुने भएकाले हाम्रो जिम्मेवारी निकै ठूलो छ ।
मोबाइलको एक्सपर्ट इन्जिनीयरदेखि मोबाइलको मेनेजर, व्यापार शाखामा प्रमुख व्यावसायिक अधिकृत र चिप टेक्निकल अफिसर हुँदै अहिले यो पदसम्म आइपुगेको छु । मैले जहिले पनि संस्थालाई अगाडि बढाउनका लागि इमानदार प्रयास गर्दै आएको छु । परिश्रम र मेहनत गर्नबाट कहिल्यै पनि पछि नहटेका कारण पनि होला कामका सन्दर्भमा कहिल्यै र कतैबाट पनि त्यस्तो असहज परिस्थितिको सामना गर्न परेको छैन ।
नेपाल टेलिकमलाई पुनर्संरचना गर्ने कुरा पनि बेलाबेलामा उठिरहन्छ । पुनर्संरचनामार्फत कस्तो खालको संस्था बनाउन खोजिएको हो ?
हामीले आन्तरिक र बाह्य गरी दुई प्रकारले पुनर्संरचनाको कुरा गरेका हौँ । आन्तरिक पुनर्संरचना हाम्रो नियमित काम हो त्यो भइरहेका छन् भने बाह्यतर्फ टेलिकमलाई स्टाटेजिक पार्टमा ल्याउने र म्यानेजमेन्ट कन्ट्रयाक्टमा जानेबारेमा पहिलेदेखि नै छलफलहरू चलिरहेको छ । तर, यसबारे कुनै ठोस निर्णयहरू भएका छैनन् ।
अहिले मोबाइल सेवाप्रदायक एनटीसी र एनसेलबीच सेवा प्रवाहमा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । अबको केही वर्षमा एनसेल पनि सरकारकै स्वामित्वमा आउँदैछ । यो अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ ?
वि.स. २०६१ सालदेखि नै वायरलेस सेवामा प्रतिस्पर्धाको वातावरण बनेको हो । तर, हामी यो वा त्यो नाममा प्रतिस्पर्धामा उत्रिएका छैनौँ । हामीले दिने सेवा र सुविधाहरूलाई सशक्त बनाउने काममा हाम्रो ध्यान केन्द्रित छ । हाम्रा सेवालाई सशक्त र प्रभावकारी बनायौँ भने प्रतिस्पर्धीको कुनै दबाब महसुश गर्न पर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ र हामी सेवा प्रवाहमा अरूभन्दा निकै सशक्त छौँ । सरकारी संस्था भएका कारण यहाँबाट ग्राहक झुक्किने र ठगिने अवस्था बन्दैन । जुन सेवा जति लागतमा रिलिज गर्दछौँ त्यो सबै पारदर्शी हुन्छ । यसबाट ग्राहकहरू सन्तुष्ट रहेको हामीले पाएका छौँ ।
दूरसञ्चार कम्पनीको ‘लाइसेन्स’ नवीकरणमा जहिल्यै समस्या सृजना हुने गरेको छ । यस्तो किन भइरहेको होला ?
नवीकरणको विषयमा कुरा गर्दा अहिलेसम्म हामी दूरसञ्चार ऐन, २०५३ अनुसार सञ्चालित र निर्देशित छौँ । सुरूमा एनटीसीले निश्चित धनराशी राखेर अनुमति लिएको थियो । तर, पछि आउने प्रतिस्पर्धीले जे-जति रकम कबुल गर्यो सोही अनुसार अघि बढ्ने सहमति भएपछि हरेक पाँच-पाँच वर्षमा २०/२० अर्ब रूपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने स्थितिमा हामी छौँ । त्यस अनुसार नेपाल टेलिकमले मन्त्रिपरिषद्को निर्णय अनुसार २५औँ वर्षसम्मको लाइसेन्स नवीकरण गरिसकेको छ भने हामीले सरकारलाई तिर्न पर्ने कुनै रकम बाँकी छैन ।
संस्थालाई गतिशील बनाउन र संस्थागत लक्ष्य प्राप्तिका लागि खटिने कर्मचारीहरूका हकमा पनि तपाइँका केही योजना छन् कि ?
कुनै पनि संस्थाका लागि कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस अनुसार नेपाल टेलिकमले पनि आवश्यक कार्य गरिरहेको छ । वि.स. २०६६ कात्तिक १ गतेपछि स्थायी नियुक्त हुनुभएका कर्मचारी साथीहरूको पेन्सनको सुनिश्चितताका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता सम्पन्न भइसकेको छ । ज्यालादारीमा कार्य गरेका तथा अवकाश हुँदा २० वर्ष सेवा अवधि नपुग्ने कर्मचारी साथीहरूको हकमा विशेष व्यवस्था गर्न सञ्चालक समितिमार्फत निर्णय गरी प्रक्रिया अगाडि बढाइएको छ । आवधिक बीमाको सम्बन्धमा सञ्चालक समितिमार्फत निर्णय गरी प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरूलाई अझ बढी दक्ष बनाउन आवश्यक व्यवस्था मिलाइएको छ । आगामी दिनमा समेत कर्मचारीहरूको हित प्रवद्र्धन हुने गरी कम्पनीको नयाँ जनशक्ति व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । संस्थाको आर्थिक उन्नतिमा कटिबद्ध सम्पूर्ण कर्मचारीको योगदान र परिश्रमलाई कदर गर्ने योजनाहरू आगामी दिनमा समेत क्रमशः ल्याउन योजना पनि छ ।
अन्तिममा केही थप कुराहरू बताउन चाहनुहुन्छ कि ?
नेपाल टेलिकमले आफ्नो धेरै सेवाहरू दिइरहेको छ । यसले आफ्नो गुणस्तर बढाउनका लागि निरन्तर काम गरिरहेको छ । कुनै समस्या आयो भने हाम्रा फरक-फरक कल सेन्टरहरूमा सम्पर्क गरी जानकारी लिन र समस्या समाधान गर्न सक्नुहुनेछ । त्यसबाहेक नेपाल टेलिकमको एपबाट पनि धेरै कुराहरू बुझ्न र सम्झिन सक्नुहुनेछ । हामीले दिएको सेवाहरू अझ धेरै बुझेर प्रयोग गरिदिनुभएको भए प्रभावकारी हुने मलाई लाग्छ । दूरसञ्चारका विभिन्न पूर्वाधारहरूलाई आफ्नै ठानेर संरक्षण गर्न भूमिका खेलिदिनुभयो भने हामीलाई निरन्तर सेवा प्रवाह गर्न सहज हुन्छ । अरू निर्माण कार्यका कारण हाम्रा तारहरू काटिने प्रवृत्तिले हामीलाई सेवा प्रवाहमा कठिनाइ परेको छ भने उपभोक्ताले प्रभावकारी सेवाबाट वञ्चित हुन परिरहेको छ ।
FACEBOOK COMMENTS