काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ भन्सार समितिका सभापति राजेन्द्र संग्रौलाले आयात–निर्यात व्यवसायलाई सहज बनाउन भन्सार प्रक्रिया सरल, पारदर्शी र व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
संघद्वारा आयोजित ‘योजना तर्जुमा कार्यशाला’मा बोल्दै सभापति संग्रौलाले भन्सारलाई केवल राजस्व सङ्कलन गर्ने माध्यमका रूपमा नभई व्यापार सहजीकरणमा केन्द्रित गर्नुपर्ने बताए ।
भन्सारमा दैनिकजसो विभिन्न समस्या आउने गरेको उल्लेख गर्दै उनले व्यवसायीले भोग्नुपरेका जटिलता समाधानका लागि समितिले सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देशको कुल राजस्वमा भन्सार क्षेत्रको योगदान करिब २० प्रतिशत रहेको बताउँदै उनले भन्सारको मुख्य भूमिका राजस्व सङ्कलनमा मात्र सीमित नभई व्यापारको सहज प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए ।
सभापति संग्रौलाका अनुसार भन्सार ऐन २०८३ मा करिब ३४ बुँदा थपिएका छन् । प्रत्येक भन्सारमा जाँचपासका लागि लाग्ने समयबारे अध्ययन भए पनि कतिपय स्थानमा त्यसको कार्यान्वयन व्यावहारिक र प्रभावकारी हुन नसकेको भन्दै उनले तत्काल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भन्सार प्रक्रियामा देखिएका समस्या समाधान गर्दै व्यवसायीलाई सहज वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने बताए ।