काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा करिब ४ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन् ।
शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार ३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरका १ लाख ६९ हजार १ सय ८५ थान मोबाइल फोन नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ बराबरका १ लाख ९८ हजार थान मोबाइल आयात भएका थिए । गत वर्षको तुलनामा यस वर्ष मोबाइल आयातको मूल्य बढे पनि थानका आधारमा भने आयात घटेको देखिन्छ ।
मोबाइल फोन आयातबाट सरकारले पनि उल्लेख्य राजस्व संकलन गरेको छ । साउनमा स्मार्टफोनबाट मात्रै सरकारले ७२ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सेलुलर तथा अन्य वायरलेस नेटवर्कमा प्रयोग हुने १ लाख ६६ हजार २ सय ८८ थान अन्य मोबाइल फोनसमेत नेपाल आयात भएका छन् । ती फोनको कुल आयात मूल्य १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

नेपालमा मोबाइल फोनको आयात मुख्यत: चीन र भारतबाट हुने गरेको छ । पछिल्लो समय स्मार्टफोनको बढ्दो प्रयोगसँगै नेपालमा मोबाइल फोनको आयात र यसबाट हुने राजस्व योगदानसमेत उल्लेख्य रहँदै आएको छ ।