काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच आधुनिक तथा व्यवहारिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीले संस्कृति इन्टरनेसनल स्कुलको अत्याधुनिक फ्याब ल्याबमा नि:शुल्क व्यवहारिक कक्षा लिन पाउने भएका छन् ।
कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो। पहिलो सत्रमा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी गराउनुका साथै डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गरेर सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गराइएको विद्यालयले जनाएको छ ।
शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्सलगायतका विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै समुदायको आवश्यकता सम्बोधन गर्ने विभिन्न नवप्रवर्तनात्मक परियोजना विकासमा पनि विद्यार्थीलाई प्रोत्साहन गरिने जनाइएको छ ।
विद्यालयका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुने यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेसनल स्कुलले नि:शुल्क उपलब्ध गराउनेछ । कार्यक्रमअन्तर्गत प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ ।
दुवै विद्यालयले यस गैर–व्यावसायिक सहकार्यले सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा पहुँच विस्तार गर्ने, डिजिटल विभाजन कम गर्न सहयोग पुग्ने तथा २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच र नवप्रवर्तन क्षमताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।