काठमाडौं । विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन् ।
चालिसे २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको दाबि छ ।
सोही अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ ।

अख्तियारले चालिसेको पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख थियो ।


FACEBOOK COMMENTS