काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको ह*त्या भएको छ ।
७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।
गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेर ह*त्या गरेको स्थानीयको भनाइ छ ।
घटना भएको जानकारी पाएलगत्तै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको छ ।
FACEBOOK COMMENTS