काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीबीचको सत्तागठबन्धन भत्किएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित दलहरूले सत्ता सहकार्य गर्ने सहमति गरेसँगै कांग्रेससँगको गठबन्धन टुटेको हो ।
हिजो आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा सत्तासहकार्य अघि बढाउने सहमति नजुटेपछि समीकरण बदल्ने निर्णय भएको हो ।
कुन्–कुन् पार्टी सहभागी हुँदैछन् नयाँ सरकारमा ?
अब बन्ने नयाँ सत्तासमीकरण गत वर्ष पुस १० गते बनेको एमालेसँगको सहकार्य हुने बताइएको छ । जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज सोमबार बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
यसैबीच, बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । सबै मन्त्री हटाउने तयारी, सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी उनले गरेका छन् ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।
FACEBOOK COMMENTS