काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ ।
मंगलबार साँझ करिब ७:४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो । लुटेराले कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम बोरामा हालेर भागेका थिए ।
फिल्मी शैलीमा घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको थियो । बैक लुटिएको खबर पाउनासाथ स्थानीयले चारैतर्फबाट घेरा हालेर सोही गाउँपालिकाको वडा नम्बर १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
लुटिएको तीन करोड १० लाख ९५ हजार २ सय ८३ मध्ये एक करोड ८० लाख १० हजार ५०० प्रहरीले बरामद गरेको बताएको छ । लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको भए पनि अन्य केहि लुटेरा अझै फरार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले फरार लुटेराहरूको खोजी तीव्र बनाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

FACEBOOK COMMENTS