काठमाडौं । जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै छन् । यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि सुरू हुने छ ।
जारी सिरिजमा स्कटल्याण्डले खेलेका २ खेलमा नेदरल्याण्ड्सविरुद्ध जित हासिल गरेको थियो भने नेपालविरुद्ध पराजित भएको थियो । त्यस्तै, नेदरल्याण्ड्सले पनि यसअघि खेलेका २ खेलमा स्कटल्याण्डविरुद्ध हार बेहोरेको थियो भने नेपालविरुद्ध जित हासिल गरेको थियो ।
यस सिरिजमा तीनै देशले खेलेका २–२ खेलमा एक–एक जित हासिल गरेका छन् भने एक–एक हार बेहोरेका छन् ।
स्कटल्याण्ड र नेदरल्याण्ड्स अहिलेसम्म टी–२० खेलमा १६ पटक आमनेसामने भएका छन् । जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्ड्स ७ खेलमा विजयी भएको छ ।
आईसीसीको टी–२० वरीयतामा स्कटल्याण्ड १३औँ स्थानमा छ भने नेदरल्याण्ड्स १४औँ स्थानमा छ ।
२० जुनसम्म हुने यस सिरिजका अन्य खेल बिहीबार नेपाल र नेदरल्याण्ड्स तथा शुक्रबार नेपाल र स्कटल्याण्डबीच हुने तालिका छ ।
FACEBOOK COMMENTS