काठमाडौं । स्कटल्याण्डले आईसीसी क्रिकेट लिग–२ मा अमेरिकाविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले अमेरिकाविरुद्ध ४३.३ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको हो । स्कटल्याण्डको निम्ति मार्क वाटले ६६ रनको अर्धशतकीय पारी खेले ।
वाटले ८५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । उनले छैटौँ विकेटको निम्ति म्याथ्यु क्रससँग ५२ रनको अर्धशतकीय साझेदारी गरे । ब्रान्डन म्याक्मुलेनलले ३२ रन जोडे । म्याथ्यु क्रसले २० रन बनाउँदा ओपनर जर्ज मुन्सीले १९ रन बनाए । अमेरिकाका रुसील उग्राकरले चार विकेट लिए । शौरभ नेत्रावल्करले तीन विकेट लिए । त्यसैगरी, शुभम रञ्जानेले दुई विकेट लिँदा हर्मित सिंहले एक विकेट लिए ।
खेलमा अमेरिका स्कटल्याण्डविरुद्ध पहिलो खेलको हारको बदला लिँदै शीर्ष स्थानमा उक्लने सोचमा छ । हाल अमेरिका २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले २६ खेल खेल्दा १८ जित र आठ हार आत्साथ गरेको छ । यसअघि भएको पहिलो खेलमा अमेरिका डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको थियो ।
यता, स्कटल्याण्ड भने अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै अंक दुरी बढाउने लक्ष्यमा हुनेछ । दुई अंकले अगाडी रहेको स्कटल्याण्डले तालिकामा ३८ अंक जोडेको छ । स्कटल्याण्डले ३१ खेल खेल्दा १६ जित र नौ हार व्यहोरेको छ । स्कटल्याण्डको ६ खेल भने रद्ध भएको थियो ।
