काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से परिसूचक र सूचिकृत संगठित संस्थाहरूको शेयर मूल्यबारे भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित नगराउन अनुरोध गर्दै नियम उल्लंघन गरे कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउदै संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्ब रोक्न सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारबाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको छ र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुनबमोजिम कारबाही अगाडि बढाइने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउँदै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध छ ।’
FACEBOOK COMMENTS