काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा अकस्मात आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बोर्डले उक्त रकम सहयोग गरेको हो।
बोर्डका अनुसार ४ करोड ११ रुपैयाँ बराबरको चेक नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा बोर्डका सञ्चालक तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो। बोर्डले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।