काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
युटीएसले टोयोटा मोटर एसियासँगको समन्वय र सहकार्यमा उक्त रकम सहयोग गरेको जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित समुदायको पुन:स्थापना तथा उत्थानशील भविष्य निर्माणमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार उक्त सहयोगमार्फत बाढी प्रभावित नेपाली समुदायलाई आवश्यक सहयोग पुर्याउने तथा विपद्पछिको पुनर्निर्माण र पुन:उत्थानमा योगदान गर्ने लक्ष्य राखिएको छ ।
यस पहलमार्फत युनाइटेड ट्रेडर्स सिन्डिकेट र टोयोटा मोटर एसियाले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता दोहोर्याउँदै ‘हाम्रो नेपालका लागि सँगसँगै’ भन्ने सन्देशलाई अघि सारेका छन् । कम्पनीले विपद्को समयमा प्रभावित समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।