काठमाडौं । धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिको बैठकमा पेस गरेको पछिल्लो विवरणअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ ।
अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले दिएको तथ्यांकअनुसार हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय भइसकेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता (ट्रेडिङ एकाउन्ट) खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ ।
धितोपत्र बजारमा प्राथमिक सेयरको वर्चस्व कायमै रहेको उनले बताए । संगठित संस्थाहरूले संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ ।
यसैगरी विशिष्टीकृत लगानी कोषको ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत रहेको छ । बोर्डले हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिएको जानकारी पनि उनले दिए ।

दोस्रो बजारको स्थितिबारे जानकारी दिँदै भट्टले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक २६०३.७१ बिन्दुमा रहेको र कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको बताए ।
पुँजी बजारले राज्यको राजस्वमा समेत उल्लेखनीय योगदान दिँदै आएको छ । उनका अनुसार गत आर्थिक वर्षमा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन स्वीकृति दिएको बोर्डले चालु आर्थिक वर्षको असोजसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालन अनुमति प्रदान गरिसकेको उनले स्पष्ट पारे ।