काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याएका छन् ।
मन्त्री शाहीले जलवायु अनुकूलन आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
“जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तीनै तहका सरकारले साझारुपमा जलवायु मैत्री विकास आयोजना अघि बढाउनुपर्छ, बढी कार्वन उत्सर्जन गर्ने राष्ट्रले जलवायु वित्त र प्रविधि हस्तान्तरणमा ध्यान दिनुपर्छ”, उनले भने ।
सरकारले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा जलवायु परितर्वनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिँदै मन्त्री शाहीले भने, “हाम्रा सेता हिमाल कालापहाडका रुपमा देखिन थालेका छन् । हिमाली जनजीवन, कृषि प्रणाली, जैविक विविधता र जलस्रोतमा असर पर्दै गइरहेको छ । केही समय अघि सगरमाथा संवाद आयोजना गरी यसबारे विश्वको ध्यानाकर्षण गराइएको छ ।”
नेपालसहित विश्वभर आज अन्तरराष्ट्रिय वातावरण दिवस मनाइएको जानकारी दिँदै मन्त्री शाहीले वातावरण स्वच्छता कायम गर्न नेपालमा ४० माइक्रोनभन्दा मुनिका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको बताए ।
FACEBOOK COMMENTS