दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तुलसीपुरमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गरेका छन्। आन्दोलनपछि पहिलो पटक गृह जिल्ला आएका पोखरेलले मंगलबार दिउँसो तुलसीपुरका विभिन्न स्थानमा पुगेर क्षतिग्रस्त संरचनाहरूको अवस्थाबारे जानकारी लिए।
महासचिव पोखरेलले अवलोकनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, जिल्ला प्रशासन कार्यालयको आसपासका क्षेत्र, कोमल रिसोर्ट, साथै नेपाली कांग्रेसका नेताहरू गेहेन्द्र गिरि र डिल्लि चौधरीका घरलगायतका संरचनाहरूमा पुगेका थिए।
भदौ २३ र २४ गते तुलसीपुरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी सम्पत्तिसहित निजी घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा ठूलो क्षति पुगेको थियो। सोही घटनापछि पहिलोपटक जिल्ला पुगेका पोखरेलले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गरे।
अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नु दुःखद भएको बताए। उनले भने, “लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि जनाउने अधिकार सबैलाई छ, तर त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्छ। सार्वजनिक सम्पत्ति तोडफोड गरेर जनताको नै धन र अधिकारमाथि प्रहार गर्नु लोकतन्त्रको भावना विपरीत हो।”
FACEBOOK COMMENTS