काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साताको दोस्रो दिनको कारोबार आज सोमबार झिनो अंकले घटेको छ ।
आज नेप्से ३.६५ अंकले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा एक अर्ब ८९ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ कम्पनीको शेयरमूल्य घटेको छ । ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार चार सय ८९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९।३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ ।
आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज ६ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS