काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले उपहारमा सुनको रोलेक्स घडी, तीनवटा गाडी र झोलाभरि पैसा लिएको आरोप लागेको छ । कांग्रसकै सांसद राजेन्द्र बजगाईंले यस्तो खुलासा गरेका हुन् ।
राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी उपहार लिएको बजगाईंले सामाजिक सञ्जालमार्फत खुलाएका हुन् ।
भिजिट भिसामा भइरहेको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने बजगाईंसहितका कांग्रेस सांसदलाई कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने भनेपछि बजगाईंले यो विषय बाहिर ल्याएका हुन् ।
बजगाईंले स्पष्टीकरण आफूलाई नभई कोइरालालाई सोध्न आवश्यक रहेको बताएका छन् ।
‘मेरो चाहना छ कि एसयूभी गाडी उपहार (एक किआ, दुई महिन्द्रा), सुनको रोलेक्स घडी, नगद भरिएका झोलाहरू, तथाकथित घर मर्मतसम्भार र राजनीतिक पदहरूको किनबेचबारे प्रश्न गर्न नपरे हुन्थ्यो । तपाईंलाई अवश्य नै स्पष्टीकरण सोधिने छ,’ बजगाईंले भनेका छन् ।
संसारकै महँगोमध्येकाे रोलेक्स
रोलेक्स घडी विश्वको सबैभन्दा महँगो घडीमध्येको एक हो । मोडेल र यसमा प्रयोग हुने सुनको शुद्धता (१८ वा २४ क्यारेट) का आधारमा यसको मूल्य निर्धारण हुन्छ । यसको मूल्य न्यूनतम नेपाली रुपैयाँ २० लाखदेखि दुई करोड ५० लाखभन्दा माथिसम्म पर्छ ।
FACEBOOK COMMENTS