काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले वरिष्ठ उद्योगपति शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले यस्ता विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई पर्याप्त स्पष्टीकरण दिने अवसर प्रदान गरिनुपर्नेमा जोड दिएको छ।
नाइमाले प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र समग्र प्रणालीप्रतिको विश्वास सुदृढ हुने उल्लेख गरेको छ। निजी क्षेत्रले अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको सन्दर्भमा यसको मनोबल उच्च राख्न आवश्यक रहेको संस्थाको धारणा छ।
संस्थाका अनुसार यस्तो अवस्थामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गर्दै विश्वासको वातावरण कायम गर्ने खालका नीतिगत सन्देश दिनु जरुरी छ। अन्यथा, यस्ता घटनाले उद्यमशीलता र लगानी वातावरणमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ।
नाइमाले आफू विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको स्पष्ट पारेको छ। कुनै पनि विषयमा तथ्यका आधारमा अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि कारबाही हुनुपर्नेमा संस्था अडिग रहेको उल्लेख गरिएको छ।
तर पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वास कमजोर हुन सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशीलता अपनाउन नाइमाले आग्रह गरेको छ।

निजी क्षेत्र र राज्यबीचको विश्वास कायम राख्दै पारदर्शी र न्यायपूर्ण प्रक्रिया सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै संस्थाले सन्तुलित दृष्टिकोण अपनाउन सरोकारवालालाई आह्वान गरेको छ।
