काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रन टू शाइन’ नाराका साथ उक्त मितिमा प्रतियोगिता आयोजना गरिनेबारे जानकारी गराएको हो ।
बैंकले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा एथलेटिक्समा लोकप्रिय विधाका रूपमा रहेको १० किलोमिटरको राष्ट्रियस्तरको दौड प्रतियोगिताको सुरूआत गर्न लागेको हो । राष्ट्रियस्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशि ५ लाख रूपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय-५० वर्षसम्म र स्थानीय-५० वर्षभन्दा माथिका गरी तीन विधा रहेका छन् ।
प्रतियोगिताको पुरूष तथा महिला विधाका विजेता धावकले जनही एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै स्थानीय धावकको सहभागिता बढाउन ५ किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिका गरी दुई विधा राखिएको छ । विजेता महिला-पुरूष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले दुई हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट https://www.srdb.com.np/ मा गई अथवा सिधै https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर नाम दर्ता गर्न सक्नेछन् । दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरू भएर मणिग्राम चोक हुँदै पुन केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरूको समेत समन्वय र सहकार्य हुनेछ । प्रतियोगिताको व्यवस्थापन र अपरेशनमा कखरा इभेन्ट जोडिएको छ ।
वित्तीय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रूपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई अग्रणी रूपमा सामेल गर्दै आएको छ । त्यसैको निरन्तरतास्वरूप बैंकले खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रियस्तरको दौड प्रतियोगिता घोषणा गरेको हो ।
FACEBOOK COMMENTS