भक्तपुर । १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको छ । निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्तिलगायतका संरचना निर्माण पूरा गर्न महायज्ञ आयोजक मूल समारोह समिति तीब्र रुपमा अघि बढेको हो ।
नगरकोट भ्रमण वर्ष–२०८२ लाई समेत सफल बनाउन धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथै कल्पेश्वर महादेवको मूर्ति निर्माणलाई पूर्णता दिन मन्दिर परिसरमै शिव पुराण महायज्ञको आयोजना गर्न लागेको हो ।
चाँंगुनारायण नगरपालिका–८ का वडाअध्यक्ष एवं महायज्ञका संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले गर्न लागेको महायज्ञको तयारी तीब्र भएको र निरन्तर रुपमा सरोकारवालाहरुसँग सम्पर्क भइरहेको बताए । कलमसी कालिका कल्पेश्वर धामको नामले चिनिएको यस क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड निर्माण भइसकेको र बसेको महादेवको कम्मरसम्मको भाग निर्माण भएपनि त्यस माथिको भाग निर्माण अपूरो रहेकाले त्यसलाई सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागेको बताउँदै त्यसका लागि आवश्यक सहयोग समेत जुटिरहेको उनको भनाइ छ ।
काभ्रेको नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्र चाँगुनारायण–८ र ९ को सिमाना एवं काभ्रको बनेपा नगरपालिका–१ को संगमस्थलको रुपमा रहेको छ । जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताउँदै वडाध्यक्ष खत्रीले निर्माणाधीन १०८ फिट बसेको शिव मुर्तिलाई १००८ शिवलिङ्गले घेर्ने योजना समेत रहेको जानकारी दिए ।
FACEBOOK COMMENTS