काभ्रेपलान्चोक। सिन्धु बिकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ।
चैत्र ८ गते काभ्रेपलान्चोक जिल्लाको धुलिखेलस्थित मिराबल होटल एण्ड रिसोर्टमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरण सर्वसम्मतीले पारित गरेको हाे।
गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा आयोजना गर्न नसकेको बैंकले यस पटक दुई वर्षको साधारण सभा एकैसाथ सम्पन्न गरेको हो। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरेको छ भने स्वतन्त्र सञ्चालकमा श्री भरत बहादुर कार्कीको नियुक्तिलाई पनि अनुमोदन गरेको छ।
साधारण सभाको विशेष प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब बीस करोड पु¥याउनुपर्ने व्यवस्थाअनुसार बैंकको हाल कायम रहेको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ। उक्त हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायहरूको स्वीकृति आवश्यक रहेको र स्वीकृतिपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने बैंकले जनाएको छ।
यसैगरी, साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी कार्य गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ।
सिन्धु बिकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बैंक हो। हाल बैंकले २६ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ।
FACEBOOK COMMENTS