काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। सरकारको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमको सम्पत्ति सरकारको हकबाट बाहिरिने गरी काम गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि २०७० वैशाखमा अनुमतिपत्र प्राप्त गरेको थियो। तर निर्धारित समयमा अनुमतिपत्र नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो।
लाइसेन्स खारेज भएपछि स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जाल प्राधिकरणको स्वामित्वमा आउनुपर्ने कानुनी व्यवस्था थियो। त्यसपछि सरकारले स्मार्ट टेलिकमको व्यवस्थापन तथा सम्पत्ति नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाएको थियो।
यसका लागि सरकारले नियमावलीसमेत बनाएर प्राधिकरणमार्फत कम्पनीको सम्पत्ति तथा पूर्वाधार नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा भएको भनिएको अनियमितताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ।
यसअघि सीआईबीले वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पनि पक्राउ गरेको थियो। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि कम्पनीको सम्पत्ति तथा पूर्वाधार व्यवस्थापनमा भएका गतिविधिमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।