काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो समय सुनसरीलगायतका जिल्लामा भएको हिंसा, मुठभेड तथा धार्मिक दंगा रोक्न अपिल गरेको छ।
घटनामा भएको मानवीय एवं भौतिक क्षतिबारे ध्यानाकर्षण जनाउँदै महासंघले सामाजिक सद्भाव कायम गर्न आग्रह गरेको छ।
’हामी नेपालीहरू परापूर्वकालदेखि नै अनेकतामा एकताबीच आपसी सद्भाव र सहकार्यमा हुर्कँदै आएकोमा कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडका घटनाले हाम्रो मौलिक विशेषता र गौरवशाली परम्परामा गम्भीर आघात पुग्दछ’, महासंघका अध्यक्ष निकोलस पाण्डेद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।
साथै, महासंघले आफू मातहतका सातै प्रदेश तथा ७७ वटै जिल्लाहरूमा रहेका आफ्ना तमाम सदस्यहरूलाई सामाजिक सद्भाव तथा धार्मिक सहिष्ण्ॉता कायम गर्नका लागि आ–आफ्नो तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।
सामाजिक सद्भावसहितको बृहत्तर एकता र स्थायी शान्तिबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव भएकाले त्यसतर्फ तत्काल पहल गर्न पनि महासंघले नेपाल सरकार, राजनीतिक दलहरू, स्थानीय समुदाय, नागरिक समाज, विभिन्न पेसा र क्षेत्रका बुद्धिजीवी र सञ्चारजगत समक्ष अनुरोध गरेको छ।
वार्ता र संवादमार्फत नै कुनैपनि किसिमको समस्याको स्थायी समाधान सम्भव भएको भन्दै महासंघले सबै पक्षहरूलाई तत्काल वार्तामा बसी समस्याको निकास खोज्न पनि अनुरोध गरेको छ।
सुनसरी, सिरहा, धनुषा, सप्तरीलगायतका जिल्लाहरूमा पछिल्ला दिनमा भइरहेका झडपका घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।