काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिको उल्लंघन गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेको छ । आर्थिक वर्ष २०७७–०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोशाक र हैसियतको दुरुपयोग गर्ने कर्मचारी कारवाहीको दायरामा परेका हुन् ।
कारवाहीमा पर्ने प्रहरी संगठनका उच्च तहदेखि तल्लो तहसम्मका कर्मचारी रहेका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयका अनुसार कारवाही सूचीमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), ५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन् ।
यस्तै ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात बरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), ७ जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३ सय ५८ जना प्रहरी जवान तथा २ जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
उनीहरूलाई संगठनको नीति र आचारसंहिता विपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी संगठनको मर्यादा र व्यावसायिक छवि जोगाउन यस्ता कारवाही अपरिहार्य भएको जनाइएको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन २०७१ पुष ११ मा परिपत्र जारी गर्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति लागू गरेको थियो । साथै, ‘नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश–२०७७’ तथा विभिन्न मितिमा जारी परिपत्रमा सामाजिक सञ्जालमा हातहतियार, पोशाक, सवारी साधन तथा प्रहरी गतिविधिसम्बन्धी भिडियो–फोटो अपलोड गर्ने, अमर्यादित टिप्पणी गर्ने वा संगठनको गोपनीयतामा असर पर्ने सामग्री सार्वजनिक गर्न कडाइका साथ निषेध गरिएको छ ।

प्रहरी कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका सामग्री पोस्ट, सेयर, लाइक वा टिप्पणी गर्न नपाउने स्पष्ट व्यवस्था छ । तर पछिल्लो समय केही कर्मचारीले ती मापदण्ड उल्लंघन गरेपछि कारवाहीको संख्या बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जालमा नीति विपरीत सामग्री पहिचान गर्ने, हटाउने र दोषीलाई कारवाहीको दायरामा ल्याउने कामलाई थप तीव्र बनाइएको छ । संगठनले प्रहरी कर्मचारीलाई जिम्मेवार र अनुशासित डिजिटल व्यवहारमा अभ्यस्त गराउँदै संस्थागत विश्वसनीयता र जनविश्वास सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ ।

FACEBOOK COMMENTS