काठमाडौं । प्रहरीले स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहीबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ तौलुङबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौंको कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसन रहेका जिल्ला प्रहरी परिसर भद्रकालीका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
उनलाई अन्दाजी साढे ४:३० बजेको समयमा बूढानीलकण्ठ नगरपालिका–१, तौलुङ एरियामा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा फेला पारेको भट्टराईले जनाएका छन् ।
भट्टराईका अनुसार चेकजाँच गर्दा निजको साथमा फेला परेको स्रोत नखुलेको रकम १८ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ ।
FACEBOOK COMMENTS