काठमाडौैं । सिरहाको तत्कालीन राजपुर गाउँ विकास समिति (गाविस)का सचिव केशव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै घिमिरेलाई तीन वर्ष कैदको फैसला गरेको छ । गत बुधवार विशेष अदालतले दोषी ठहर गरेका उनलाई आज सोमबार विशेष अदालतका अध्यष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनलाई भ्रष्टाचारको कसुरमा २४ लाख ९२ हजार ५१० रुपैयाँ ५० पैसा जरिवानाको फैसला पनि भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को कसुरमा उक्त सजाय सुनाइएको हो ।
त्यही ऐनको दफा ८ (१) बमोजिम २ लाख ६७ हजार २६ रुपैयाँ बिगो बरावरको जरिवाना र एक वर्ष कैदको फैसला भएको छ । बिगो र जरिवाना बापत भराएको रकम तत्कालीन राजपुर गाविसलाई भराइदिने फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिना गरेको आरोपमा घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरेसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अरुण शाह र शिवजी कामतीले भने सफाइ पाएका छन् ।
FACEBOOK COMMENTS