काठमाडौं । सार्वजनिक बिदाको दिन अनुमति नलिई सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेश ०१–००१ झ ०३९७ नम्बरको सरकारी गाडीलाई पाँच सय रुपैयाँ जरिवाना गरेको हो।
कार्यालयका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सार्वजनिक बिदाका दिन आवश्यक अनुमति नलिई सरकारी गाडी सञ्चालन गरिएको पाइएपछि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कारबाही गरिएको हो।
निषेधित समयमा सरकारी सवारीसाधन प्रयोग गरेको कसुरमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिएको आचार्यले बताएका छन्।
प्रहरीका अनुसार गाडी सञ्चालन गरिएको समयमा राज्यमन्त्री कुँवर भने त्यसमा सवार थिइनन्। चालकले मात्रै सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको पाइएको ट्राफिक प्रहरीको भनाइ छ।
