काठमाडौं । एमालेका युवा नेता सुहाङ नेम्वाङले लोकप्रिय भोट सहित एमाले केन्द्रीय नेतृत्वमा डेब्यू गरेका छन् । १७ सय २१ मतसहित नेम्वाङले खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्य जितेका हुन् ।
केपी ओली पक्षले सुरूमा प्यानलमा नराखेपछि उनले ‘स्वतन्त्र’ रूपमा उम्मेदवारी दिएका थिए । पछि उनलाई ओली पक्षले अन्तिम सूचीमा समेट्यो । सुहाङलाई ईश्वर पोखरेल प्यानलमा पनि राखिएको थियो ।
सुहाङ एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका सुपुत्र हुन् । पिताको देहावसानपछि उनको बिँडो थाम्ने अठोटसहित उनी राजनीतिमा होमिएका थिए । छोटो समयमै उनले पिताजस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन् ।
इलाम २ मा भएको उपनिर्वाचनमा उनी एमालेबाट विजयी बनेका थिए । सामाजिक सञ्जालमा समेत सुहाङलाई एमाले केन्द्रीय कमिटीमा देख्न चाहेको भन्दै धेरैले शुभकामनासहित स्टाटस लेखेका थिए ।
FACEBOOK COMMENTS