काठमाडौं । एमेच्योर सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न अोपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।
हिमालयन गल्फ कोर्स, पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाषले करिअरको दोस्रो टुरइभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २०४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।
उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।
दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २०८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे ।
समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुर थापा, निरज तामाङ र रामे मगरले ७ ओभर २११ स्कोरसहित जनही ६८ हजार ८३३ रुपैयाँ पाए ।
स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २१३ स्कोर जोडे । सातौं स्थानका सञ्जय लामाले १० ओभर २१४ स्कोर जोड्दै ४५ हजार पाए ।
आठौं भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दशौं भए ।
प्रतियोगिताको कुलपुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमा बर्डी लेखाए ।ब्याक नाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।
जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौँमा डबल बोगी खेपेका उनले पाँचौं आठौंमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।
प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म चलेकोथियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो ।
इभेन्टको अन्तिम दिन आज शनिबार प्रोएम इभेन्ट हुँदै छ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्ने छन् ।
FACEBOOK COMMENTS