काठमाडौँ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा यही फागुन १० देखि १७ गतेसम्म प्रथम ‘स्वयम्भू महोत्सव’ आयोजना गरिने भएको छ।
वडाका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचनाहरूलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिए। उनले महोत्सवले उपेक्षित प्राचीन स्मारकहरूलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्ने बताए।
स्वयम्भूको भुईंखेल चौरमा हुने महोत्सवमा करिब ६० वटा स्टल रहनेछन्। महोत्सवमा वडाका उद्यमशील व्यक्तिहरूले उत्पादन गरेका वस्तु, स्थानीय कृषि उत्पादन, तरकारी, फलफूल, ऊन तथा धागोबाट बनेका पहिरन प्रदर्शन गरिनेछ। साथै, भगवान् पाउको धर्मचक्र पार्कमा विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना सम्बन्धी प्रदर्शनीसमेत हुनेछ।
महोत्सवमा परम्परागत बाजा, जन्मदेखि मृत्युसम्मका संस्कार झल्काउने चित्रहरू, बुद्धको जीवनी, हुलाक टिकट तथा मुद्रा प्रदर्शन गरिनेछ। साथै, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम महोत्सवका प्रमुख आकर्षण हुनेछन्।
स्वयम्भू महाचैत्य वडा नं १५ को प्रमुख पहिचान हो। सो क्षेत्र शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनाराका शोभाभगवती मन्दिर, सरस्वती मन्दिर तथा विभिन्न विहार र देवालयहरूले समृद्ध छ।
FACEBOOK COMMENTS