काठमाडौं । सरकारले लिएको राजस्व सङ्कलनको लक्ष्य असफल भएको छ ।
चालु आवमा १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा उक्त आव सकिन दुई दिन बाँकी रहँदा राजस्व सङ्कलन १० खर्ब १६ अर्ब रूपैयाँमा सीमित रहेको कारण लक्ष्य असफल देखिएको हो ।
असार २९ सम्मको तथ्यांकअनुसार यो लक्ष्यभन्दा ४ खर्ब ६ अर्ब कम हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्बको बजेट विनियोजन गरेको थियो । लक्ष्यको तुलनामा असार २९ सम्ममा ७१.४३ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
विगत चार वर्षमा सरकारले असार महिनामा मात्र सङ्कलन गरेको राजस्वको तथ्याङ्कलाई हेर्दा १ खर्ब ४८ अर्बदेखि १ खर्ब १७ अर्ब रूपैयाँसम्म छ । यस हिसाबले सरकारले बढीमा असार महिनामा १ खर्ब ५० अर्ब रूपैयाँ राजस्व सङ्कलन गर्दा १० खर्ब ६९ अर्ब रूपैयाँ हाराहारीमा मात्र राजस्व सङ्कलन हुने देखिन्छ । राजस्व सङ्कलनको अवस्था हेर्दा सरकारले चालु आवमा लिएको राजस्व लक्ष्यको नजिक समेत पुग्ने देखिदैन् ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–०७८ को असार महिनामा १ खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको थियो । आव २०७८–०७९ को असारमा १ खर्ब २५ अर्ब र आव २०७९–०८० मा १ खर्ब १७ अर्ब राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्ष २०८०–०८१ मा सरकारले १४ खर्ब ३ अर्ब रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसमा ९ खर्ब ५७ अर्ब रूपैयाँ प्राप्त गरेको थियो । वार्षिक राजस्व सङ्कलन ९ खर्ब ५७ अर्ब रूपैयाँ उठाउँदा असार महिनामा मात्र १ खर्ब २० अर्ब रूपैयाँ राजस्व उठाएको थियो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष सरकारले दुई दिनमा २८ अर्ब ५ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस हिसाबले चालु आवको राजस्व करिब साढे १० खर्बको आसपास मात्र पुग्ने देखिन्छ ।
चालु आवमा सरकारले लिएको लक्ष्य पूरा गर्न नसके पनि गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले राजस्व सङ्कलनमा सुधार देखिएको अर्थले दाबी गरेको छ । अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनिराम शर्माले विद्युतीय गाडीमा दिएको भन्सार छुटले राजस्व सङ्कलनमा कमी आएको बताएका छन् । विद्युतीय गाडीमा भन्सार छुटले करिब ४० अर्ब भन्सार राजस्वमा कमी आएको अर्थले बताएको छ ।
आर्थिक वर्ष पूरा हुँदासम्ममा संशोधित लक्ष्य पूरा नभए पनि ११ खर्ब रूपैयाँ आसपास राजस्व सङ्कलन हुने दाबी अर्थले गरेको छ । राजस्व आयातमुखी हुँदा पछिल्लो समय आयात र निर्यात दुवै घट्दै गएकाले राजस्व सङ्कलनमा कमी आएको हो ।
भन्सारबाट बढी राजस्व सङ्कलन हुने वस्तुको आयात पछिल्लो समय कम देखिएकाले त्यसको असर राजस्वमा परेको छ । बढी राजस्व आउने वस्तुको आयात कम रहेको अर्थ मन्त्रालयलको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो समय विद्युतीय सवारी साधनको आयात बढी भए पनि भन्सार दर कम छ । विद्युतीय सवारी साधनले गर्दा ४० अर्बको कमी आएको अर्थका अधिकारी बताउँछन् ।
महालेखाको तथ्याङ्क अनुसार असार २९ सम्मा पुँजीगत खर्च लक्ष्यको ६०.८६ प्रतिशत भएको छ । सरकारले चालु आवमा पुँजीगत खर्च गर्ने लक्ष्य ३ खर्ब २ अर्ब रूपैयाँ लिएको थियो । जसमध्येमा चालु आवको दुई दिन बाँकी हुँदा १ खर्ब ८३ अर्ब रूपैयाँ मात्र खर्च गरेको छ । यस्तै चालुतर्फ लक्ष्य अनुसार ८३.१९ प्रतिशत खर्च गरेको छ । ११ खर्ब ४१ अर्ब खर्च गर्ने लक्ष्य लिएकोमा ९ खर्ब ४९ अर्ब रूपैयाँ खर्च गरेको छ ।
FACEBOOK COMMENTS