काठमाडौं । हिजो (शुक्रबार) राजसंस्था पक्षधरहरूले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलनमा प्रहरीले म्याद गुज्रेका अश्रुग्यास प्रहार गरेको खुलेको छ ।
आन्दोलकारीहरूको उत्तेजित भीड नियन्त्रणका लागि भन्दै लगातारजसो सयौँ सेल अश्रुग्यास प्रहार गरिएका थिए । प्रहरीले प्रहार गरेका ती अश्रुग्यासका सेलहरू प्रायः सबै म्याद गुज्रिएका पाइएको छ । स्वास्थ्य सुरक्षाका दृष्टिकोणले समेत प्रयोग गर्न नमिल्ने अश्रुग्यास प्रहार भएको हो ।
सन् २००८ मै म्याद गुज्रिसकेका अश्रुग्याससमेत प्रहार गरेको खुलेपछि अहिले यसबारे प्रश्न उठिरहेको छ । आमनागरिकको सुरक्षा जिम्मेवारी बोकेको प्रहरी सङ्गठनबाटै म्याद गुज्रिएका अश्रुग्यास प्रहार भएपछि छानबिन तथा कारबाहीको माग उठेको हो ।
जानकारहरूका अनुसार अश्रुग्यासको म्याद सामान्यतः ५ देखि १० वर्षसम्मको हुन्छ । म्याद गुज्रिएको अश्रुग्यासको सम्पर्कमा आउँदा छालामा जलन, श्वासप्रश्वासमा गम्भीर समस्या, आँखाको दृष्टि गुम्ने, फोक्सोमा दीर्घकालीन असर पर्ने तथा ज्यानै जानेसम्मको खतरा हुन्छ ।
तीनकुनेको आन्दोलनमा म्याद गुज्रिएका प्राणघातक अश्रुग्यास प्रहार गरेर नागरिकको स्वास्थ्यमाथि खेलाँची गरिएको बताउँछन्, शारीरिक सुगठक सञ्जित श्रेष्ठ ।
सामाजिक सञ्चाल फेसबुकमा उनले लेखेका छन्, ‘कृषि कार्यालयतिर खोज्यो भने अझै पनि ४०–४५ वर्षअघि अमेरिका र अष्ट्रेलियाबाट नष्ट गर्न नसकिएका उडुस मार्ने केमिकल भेटिन्छ होला । सन् १९७२ तिर अति घातक मानिएको डीटीटी केमिकल प्रतिबन्ध भएपछि त्यो नष्ट गर्न मुस्किल भएर नेपालतिर पठाइएको थियो । त्यसले उडुस त नष्ट गर्न सकेन तर मान्छेलाई सजिलै नष्ट गर्न सक्छ । यो १०–१५ वर्ष म्याद गुज्रिएको ग्यास प्रहार गर्नुभन्दा त्यो उडुसको औषधिले प्रहार गर, त्यो प्रभावकारी हुन्छ, त्यसको असर सय–डेढ सय वर्षसम्म परिरहन्छ । के खेलाँची गरिरा’को ? छापामार व्यवस्था छ, जगजाहेरै छ । जे गरे पनि ताली पड्काउने जत्था तयार छ यहाँ । सखाप बनाइदे मानव सभ्यता अनि आफैँ पनि सखाप हो !’
यसरी मानिसको ज्यानै लिन सक्ने म्याद गुज्रिएका अश्रुग्यास प्रहरीले आखिर किन प्रयोग गर्यो ? स्मरणीय छ, नेपालमा २०६२/०६३ को जनआन्दोलनपछि त्यति ठूला आन्दोलन भएका छैनन् । छिटफुट भइरहेका सानातिना आन्दोलनमा भीड नियन्त्रणका लागि अहिले मौज्दात रहेका अश्रुग्यास नै पर्याप्त हुने ठानेर नयाँ अश्रुग्यास नकिनिएको हुन सक्ने जानकारहरू बताउँछन् ।
यता, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले भने प्रहरीसँग अहिले भएजति सबै अश्रुग्यास म्याद गुज्रिएका मात्र रहेको स्वीकार गरे । नयाँ खरिद हुन नसकेका कारण प्रहरीले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग गर्नु परिरहेको उनको भनाइ छ ।
‘नयाँ किन्न सकिएको छैन, खरिद प्रक्रियाका लागि टेण्डर नखुल्नुलगायत कारणले पुरानै प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले कर्पोरेट खबरसँग भने ।
FACEBOOK COMMENTS