काठमाडौं । नेपाल टेनिस संघले आगामी डेभिस कप प्रतियोगिताका लागि टिम छनोट प्रक्रियाबारे उठेका प्रश्नहरूलाई खण्डन गर्दै छनोट पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र प्रर्दशनमा आधारित रहेको स्पष्ट पारेको छ।
खेलाडी अभिषेक बास्तोलाको विषयमा सामाजिक सञ्जालमा आएका आरोपहरूलाई अस्वीकार गर्दै संघले बास्तोलालाई मापदण्डअनुसारको मौका दिइएको जिकिर गरेको छ। संघका अनुसार सन् २०२४ मा आईटीएफको शीर्ष २ हजारभित्र स्थान बनाएका कारण बास्तोला र नेपाल नम्बर एक प्रदीप खड्का दुवैलाई टिममा समावेश गरिएको थियो। तर सन् २०२५ मा अभिषेकले आईटीएफमा पर्याप्त प्रतिस्पर्धा नगरेकाले उनको वरियतामा कमी आएको र प्रत्यक्ष छनोट हुने मापदण्डमा नपरेको संघले स्पष्ट पारेको छ।
संघका अनुसार त्यसपछि बास्तोलालाई वाइल्ड कार्डबाट छनोट खेलमा सहभागी हुन अवसर दिइएको थियो तर उनले गुआममा आयोजना हुने आईटीएफको प्रो प्रतियोगितामा सहभागी हुने निर्णय गरेका थिए। संघले यसअघि नै अप्रिल २६ मा छनोट खेलको मिति सार्वजनिक गरिसकेको उल्लेख गर्दै आईटीएफले तोकेको अन्तिम मनोनयन समयसीमा भएकाले मिति परिवर्तन सम्भव नभएको जनाएको छ।
टेनिस संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक जना खेलाडीको व्यक्तिगत तालिकाका कारण अन्य खेलाडीहरू प्रभावित हुने गरी मिति परिवर्तन गर्नु न्यायोचित हुने थिएन।’ संघले अभिषेकले यस निर्णयबाट असन्तुष्टि जनाउनु स्वाभाविक भए पनि छनोट प्रक्रिया पूर्ण रूपमा स्थापित मापदण्डअनुसार पारदर्शी ढंगले गरिएको दाबी गरेको छ।
त्यस्तै, संघले अभिषेकले सामाजिक सञ्जालमार्फत संघमाथि गलत आरोप लगाएकोप्रति आपत्ति जनाउँदै आगामी दिनमा पनि निष्पक्षता, पारदर्शिता र योग्यता नै छनोटको मुख्य आधार रहने प्रतिबद्धता व्यक्त गरेको छ।
FACEBOOK COMMENTS