काठमाडौं । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता कम्पनी टेस्ला आधिकारिक रूपमा भारतीय बजारमा प्रवेश गरेको छ ।
मंगलबार मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्स (बीकेसी)स्थित मेकर म्याक्सिटी मलमा टेस्लाको पहिलो शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो।
भारतमा अहिले टेस्लाले आफ्ना गाडीहरूको उत्पादन भने गर्ने छैन। केही महिना अघि नै कम्पनीले भारतीय बजारमा सम्भावित प्रवेशका लागि कर्मचारी भर्ती प्रक्रिया सुरु गरेको थियो। यसपछि टेस्लाको भारत प्रवेशबारे व्यापक चर्चा सुरु भएको थियो।
टेस्लाका सीईओ एलन मस्कले भारतमा लगानी गर्ने इच्छा पहिले नै व्यक्त गरिसकेका थिए तर उनले उच्च आयात करलाई मुख्य अवरोधका रूपमा औंल्याएका थिए। तर, हालै भारतीय सरकारले नयाँ विद्युतीय सवारी नीति सार्वजनिक गर्दै विश्वव्यापी ईभी निर्माता कम्पनीहरूलाई विशेष सुविधा र कर छुट दिने घोषणा गरेको छ। यस्तो अवस्थामा टेस्लाले निकट भविष्यमा भारतमै विद्युतीय गाडी उत्पादन गर्ने सम्भावना पनि बढेको छ।
टेस्लाले भारतमा विश्वकै सबैभन्दा बढी बिक्री हुने आफ्नो इलेक्ट्रिक एसयूभी मोडल ‘वाई’ लन्च गरेको छ। मोडल वाई टेस्लाको चर्चित मोडल ३ मा आधारित छ तर यसमा प्यानोरामिक गिलास छाना र स्पोर्टी कूप शैलीको डिजाइन छ। बाहिरी रूपमा यो कार निकै सरल देखिए पनि फ्लश डोर ह्यान्डल, स्लिम हेडल्याम्प र एरोडायनामिक बनावटले यसलाई अलग बनाएको छ।
भारतमा टेस्ला मोडल वाईको प्रारम्भिक मूल्य ६० लाख भारु तोकिएको छ।
FACEBOOK COMMENTS