काठमाडौं । थाइ एयर एसियाको विमान गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान सुरु भएको हो ।
बिहान ७ बजे उक्त विमान विमानस्थलमा अवतरण गरेको हो । बिहान ७.४० बजे बैंकक प्रस्थान गरेको छ । विमानमा चालक दलका ७ सदस्य सवार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए ।
“सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।”
थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडौंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।
भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार रहेको जनाइएको छ ।
कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एसियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने सर्तसहित उडान अनुमति फुकुवा गरिएको हो ।
कम्पनीलाई सातामा काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान गर्नेगरी अनुमति दिइएको छ ।
FACEBOOK COMMENTS