काठमाडौं । थाई चेम्बर अफ कमर्सले नेपाली व्यवसायीहरूको भव्य स्वागत गरेको छ । थाई चेम्बरका उच्च पदाधिकारीहरूले बान्जेर्ड छोविल्यान बोर्ड अफ ट्रेडमा स्वागत गरेका थिए ।
सो अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलको नेतृत्व गरेका महासंघकी महिला विकास समितिकी सभापति कमला श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, किशोर आचार्य, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सञ्चालक समितिका सदस्य निराजन चलाउनेलगायत अन्य व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
सो छलफल एवं भेटघाट कार्यक्रममा थाई चेम्बर अफ कमर्सका उपाध्यक्षले नेपाल र थाइल्याण्डबीच द्विपक्षीय लगानी अभिवृद्धिका सवालमा आफ्नो धारणा राखेका थिए । सो महत्त्वपूर्ण भेटघाट एवं छलफल कार्यक्रममा थाई उपाध्यक्षले उद्यमशीलता प्रवर्द्धन गर्न थाई चेम्बरले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि आफूहरू मिलेर अघि बढ्न चाहेको बताए । उनले शिक्षा, सूचना र प्रविधिका क्षेत्रमा मिलेर अगाडि बढ्न सक्ने बताए ।
यस्तै नेपालको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै लघु तथा घरेलु उद्योगको विकासमा आफ्नो सहयोग रहने जनाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ महिला समिति सभापति कमला श्रेष्ठले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानीका लागि थाई चेम्बरका पदाधिकारी एवं उद्यमीहरूलाई आग्रह गरिन् । उनले नेपाल पर्यटन प्रवर्द्धन, व्यापार अभिवृद्धि र लगानीका लागि उपयुक्त गन्तव्य भएकाले थाई उद्यमी एवं व्यवसायीलाई खुलेर लगानी गर्न आग्रह गरिन् । श्रेष्ठले नेपालमा लगानी गर्न र लगानीपछिको नाफा सुनिश्चिताका लागि वर्तमान सरकारले कानुनलाई सरलीकृत गरेको जानकारी गराइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले लगानीको प्रशस्त सम्भावना रहेकाले कुन-कुन क्षेत्रमा प्राथमिकता दिने त्यसको होमवर्क गरेर हेर्नुपर्ने बताइन् । उनले नेपालमा जेम्स एण्ड ज्वेलरीका क्षेत्रमा थाई व्यवसायीलाई मिलेर काम गर्न आग्रह गर्दै उच्च प्रविधि भित्र्याउन सके दुई देशले मिलेर लाभ लिन सक्ने जनाइन् ।
यस्तै उपाध्यक्ष श्रेष्ठले नेपाललाई वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन गर्न सके नेपालीलगायत अन्य विदेशी पर्यटकहरूबाट प्रशस्त लाभ लिन सकिने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले निर्यात व्यापारको प्रचुर सम्भावना भए तापनि थाई चेम्बरसँग आबद्ध भएर आफूहरूले लाभ लिन नसकेको गुनासो गरे । उनले हस्तकला वस्तुहरूको निकासी अमेरिका र युरोपियन बजारमा प्रवेश गरिरहँदा पर्यटन हबका रूपमा रहेको थाइल्याण्डमा भने सोचेजति निकासी नभएको जानकारी गराउँदै त्यसका लागि आगामी दिनहरूमा थाई चेम्बरसँग मिलेर अघि बढ्ने बताए ।
श्रेष्ठले व्यापार प्रवर्द्धनका लागि नेपालमा हुने मेलामा सहभागिता जनाउन थाई चेम्बरका पदाधिकारीलाई आग्रह गरे । त्यस्तै निकट भविष्यमा बैंककमा हुन गइरहेको हर्ब्स तथा हर्बल मेलालगायत अन्य मेलाहरूमा नेपाली उद्यमीहरूलाई सहभागी गराउन सके उपयुक्त लाभ लिन सक्ने उनले बताए ।
कार्यक्रममा नेपाली राजदूतावासका डीसीएम प्रकाश अधिकारीलगायतको पनि उपस्थिति थियो ।
FACEBOOK COMMENTS