काठमाडौँ । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले देशको भविष्यको फैसला गर्ने बताएका छन्।
‘गल्याङ–३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै काँग्रेसका उपसभापति गुरुङ्ले कस्तो नेतालाई मत दिन्छौँ यसैका आधारमा भविष्यको फैसला हुने छ ।’ उनले भने ।
“हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ”, उनले भने, “जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मङ्सिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।”
गरिब जनताले खाइनखाइ तिरेको करबाट ठुला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । “गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो”, उनले भने, “हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिको विरुद्ध मत दिएर अवस्था बदल्ने दिन मङ्सिर ४ गतेको दिन हो ।”
निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् ।
FACEBOOK COMMENTS