सिन्धुपाल्चोक । काठमाडौं वासीका लागि खानेपानी लैजाने मेलम्ची आयोजनाको दोस्रो खण्ड याङ्ग्री–लार्केको काम रोकिएको छ ।
याङ्ग्री र लार्के खोलाबाट दैनिक १७–१७ करोड लिटर पानी राजधानी लैजाने योजनाका साथ शुरू गरिएको मेलम्ची खानेपानीको दोस्रो चरणका काम बीचमै रोकिएको हो । खोनपानी विकास समितिले गरेको प्रतिबद्धता कार्यान्वयन नगर्दा स्थानीय प्रभावितले काम बीचमै रोकेका हुन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेगरी पानी लैजाने सरुङसम्म पुग्ने गरी सडक निर्माण भइरहेको थियो । खानेपानी विकास समितिले स्थानीय बासिन्दाको समस्या समाधान नगरेकै कारण अहिले काम रोकिएको हो । यसअघि खानेपानी विकास समितिले याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएको थियो ।
खानेपानीले सहमति गरेबमोजिम क्षतिपूर्ति दिन आलटाल गरेकै कारण स्थानीयमा कामममा अवरोध गरेका हुन् । ठेकेदारले स्काभेटरलगायत साधन ल्याएर काम गर्न शुरू गर्दा स्थानीयले रोकेका छन् । ‘हाम्रो माग सम्बोधन नभई काम सुचारु हुनेछैन,’ स्थानीय बासिन्दाको एउटै आवाज छ ।
‘सडक खन्नेक्रममा क्षति भएका बालीहरूको क्षतिपूर्ति दिन्छु भनेर आलटाल गरेकाले काम बीचमै रोकेका हौं,’ पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ धापका पीडित दिल वाइवाले भने, ‘स्थानीय बासिन्दाको बालीहरू धेरै पुरिएको छ ।’ उनले धान, मकै कोदो, अलैंचीसहित रूखबिरुवामा क्षति पुगेको जानकारी दिए ।
यो योजना पाँचपोखरी गाउँपालिकाको विभिन्न वडावासी प्रभवित हुने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS