पोखरा पुष १ , पोखरामा ईतिहासकै पहिलोपटक हुन लागेको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारिएको जानकारी दिएको हो ।
यो वर्ष लिगका ३ खेल पोखरा रंगशालामा तोकिएको छ । लिगमा सहभागी प्रमुख टोली मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्डको रुपमा पोखराको मैदान गरेपछि पोखरेलीले आफ्नै मैदानमा लिगका खेल हेर्न पाउने भएका हुन् । पोखरेलीको प्रिय टीम मनाङले आफ्नै भूगोललाई होम ग्राउण्ड छानेको हो ।
सार्वजनिक तालिका अनुसार मनाङले पोखरामा पुस ३, पुस १७ र पुस २४ गते खेल्नेछ । पुस ३ गते विभागीय नेपाल पुलिस क्लबसँग पाँचौं चरणको खेल खेल्नेछ । सातौं चरणमा पुस १७ मा मनाङको प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज हुनेछ भने पोखराको मैदानको अन्तिम खेल पुस २४ गते च्यासल युथ क्लबसँग आठौं चरणमा खेल्नेछ ।
घरेलु मैदानमा हुने पहिलो खेलको तयारीका लागि मनाङको टोली बुधबार पोखरा ओर्लिएर पत्रकारसँग भेटघाट गरेको हो । लिग कमिटी निर्देशक सञ्जीव मिश्रले पोखरामा पहिलोपटक हुने ३ खेललाई होम एन्ड अवे अवधारणाको परीक्षणरुपमा लिएको बताए । उनले प्राविधिक रुपमा पोखराको मैदान उपयुक्त रहेको बताउँदै केही आवश्यकीय तयारी भइरहेको पनि उल्लेख गरे । सुरक्षाका हिसाबले पनि सबै तयारी गरिसकिएको उनले बताए । कोभिड महामारीबाट बच्ने सबै उपाय अवलम्वन गर्न नसकिएपनि फिफा र एएफसीको मापदण्ड अनुसार खेलाइने मिश्रले उल्लेख गरे ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा हुने ३ खेललाई सफल बनाउन सबैलाई आग्रह गर्दै यो नयाँ परीक्षणलाई पोखरेलीले सफल बनाइदिनेमा आफू ढुक्क रहेको बताए ।
FACEBOOK COMMENTS