काठमाडौं । नेपालको प्रतिष्ठित राष्ट्रिय भलिबल प्रतियोगिता ‘टाइगर कप २०८२’ को छैटौँ संस्करण यही माघ ९ गतेदेखि माघ १७ गतेसम्म पोखरा रङशालामा आयोजना हुने भएको छ । यस संस्करणका लागि डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ लाई आधिकारिक टिकटिङ पाट्र्नर घोषणा गरिएको छ ।
टाइगर ग्रुप अफ पोखराद्वारा निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता राष्ट्रियस्तरमै सबैभन्दा ठूला भलिबल प्रतियोगितामध्ये एकका रूपमा स्थापित भइसकेको छ । यस वर्षको टाइगर कपमा ७ पुरुष र ७ महिला गरी कुल १४ टोली सहभागी हुँदैछन् । तीमध्ये ४ वटा अन्तर्राष्ट्रिय टोली समेत सहभागी हुने आयोजकले जनाएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
दर्शकहरूका लागि टिकटको मूल्य रु. ३०० देखि रु. ५०० सम्म निर्धारण गरिएको छ । सबै खेलका टिकटहरू अब खल्ती एपमार्फत सजिलै अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ। यसले दर्शकहरूलाई लाइनमा बस्नुपर्ने झन्झट हटाउँदै सहज र सुरक्षित टिकटिङ अनुभव प्रदान गर्ने आयोजक र खल्ती दुवैको विश्वास छ ।
अघिल्ला संस्करणहरूमा नै देशभरका भलिबल प्रेमीहरूको व्यापक ध्यान आकर्षण गर्न सफल टाइगर कपले यस वर्ष पनि खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। पोखरालाई केन्द्र बनाएर आयोजना हुने यस प्रतियोगिताले खेलकुद पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले टाइगर कपसँगको साझेदारीप्रति खुसी व्यक्त गर्दै भने, “खल्ती र टाइगर कपबीचको यो साझेदारी भलिबल तथा समग्र खेलकुद प्रेमीहरूका लागि उत्साहजनक विषय हो। डिजिटल टिकटिङमा अग्रणी रहेको खल्तीमार्फत फ्यानहरूले सहज, छिटो र सुरक्षित रूपमा टिकट खरिद गरी खेलको प्रत्यक्ष मज्जा लिन सक्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”आयोजकका अनुसार प्रतियोगितासम्बन्धी थप जानकारी, खेल तालिका र टिकट खरिद प्रक्रिया खल्ती एप तथा आधिकारिक माध्यमहरूबाट क्रमश: सार्वजनिक गरिनेछ।

FACEBOOK COMMENTS